दाङको तुलसीपुरमा ग्रिन फाउन्डेसन नेपालले लैंगिक हिंसा अन्त्य र महिला सशक्तिकरणका लागि विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन पारेर सम्पन्न यस कार्यक्रममा महिलाको आर्थिक, सामाजिक, र उद्यमशीलता क्षेत्रमा सहभागिता अभिवृद्धि गर्नुपर्ने विषयमा गहन छलफल भएको छ।
कार्यक्रममा ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले लैंगिक मैत्री समाज निर्माण र मानव अधिकार संरक्षणका लागि महिलाको सशक्तिकरण अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले लैंगिक हिंसाको अन्त्य घर-घरबाटै सुरु हुनुपर्ने र यसका लागि आर्थिक सशक्तिकरण, शिक्षा, र कानुनी संरचनाको सुधारमा जोड दिनुपर्ने कुरामा प्रकाश पार्नुभयो।तुलसीपुर नगर बाल सञ्जालकी सदस्य प्रेरणा मियाले महिलालाई अवसर प्रदान गरिए पनि समाजमा अझै पनि कमजोर ठान्ने प्रवृत्ति रहेको बताउँदै यो प्रवृत्तिको अन्त्यका लागि शिक्षा र चेतनाको भूमिका अपरिहार्य रहेको औंल्याउनुभयो। वडा सदस्य दिलमाया नेपालीले महिलाबीचको भेदभाव हटाउन र समानताको वातावरण सिर्जना गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीय नेतृत्व, उद्यमी, र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस कार्यक्रमको अध्यक्षता स्थानीय वन महासंघ नेपालकी सचिव रक्षा काफ्लेले गर्नुभएको थियो। प्रमुख अतिथि ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे र अन्य विशिष्ट अतिथिहरूले आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो।यस अन्तरक्रियाले महिला सशक्तिकरण र लैंगिक समानताका सवालमा समुदायमा सकारात्मक सन्देश पुर्याएको छ र भविष्यमा यस्ता पहलहरू निरन्तर अगाडि बढ्नुपर्नेमा सहभागीहरू सहमत हुनुहुन्थ्यो।https://sitalpuronline.com/?p=8726