तितेपातीको साबुन बनाएर बने उद्यमी

तितेपातीको साबुन बनाएर बने उद्यमी

लोपोन्मुख बनकरिया समुदायको मुहार फेरिदै

मकवानपुरको मजहरी गाउँपालिकामा बसोबास गर्दै आइरहेका अति लोपोन्मुख जाती बनकरिया बस्तिका महिलाहरुले खोलाको किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनमा आधारित जिवनयापन भएका उक्त जातीको लागि मसिने शान्ति साुमदायिक वन बफर्जुन क्षेत्रमा परिणत भएसंगै खेर गैरहेको तितेपातीको प्रयोग गरेर उद्यमी बन्न प्ररित भएका हुन् ।

२०६२ सालमा जिल्ला विकास समति मकवानपुर र मनहरी गाबिसको सहयोगमा वनको घुमन्ते जिवनबाट बस्तिमा बस्न आएका बनकरियाहरु अहिले आत्मनिर्भर हुनको लागि सन्तानलाई विद्यालय पठाउनेदेखी लिएर सकेको काम गर्ने गरिरहेको बनकरियाकी नव मनोनित मुखिया सन्तमाया बनकरियाले बताउनुभयो । उहाँले भन्नुभयो“ हामीले जंगल जिवनमा जुन दुख काट्यौै त्यो हाम्रो छोराछोरीलाई नपरोस् भनेर कोशिस गरिरहेका छौं ।” उहाँले आफुहरुले अन्न खानको लागि धेरै मेहनत गर्नुपरेको बताउदै थप्नुभयो “ हामीलाई अन्न खान रहर लाग्दा लोग्नेमान्छेहरुले कुरिलो, कुचो, माछा लिएर बस्ति जाने गर्थे, अहिले हामी फलाइरहेका छौं ।” उहाँले सुत्केरी हुँदा खान नपाएको सम्झदै त्यो दिन हालको लागि कथा जस्तो बनेको बताउनुभयो । बिगतमाम आफुहरु मसिने शान्ती सामुदायिक वनबाट कचो ( खरेटो, कुरिलो, गिट्टठा भ्याकुर खोज्ने र खोलामा माछा मार्ने काम गरेर गुजारा चलाएको भएपनि मसिने शान्ती सामुदायिक वन बफर्जुन क्षेत्रमा परेपछी वनमा उक्त कार्यहरुको लागि समस्या भएको उहाँको भनाई छ । बिकल्पको रुपमा उहाँहरुले हाल तितेपाती, निम र ध्युकुमारीबाट साबुन बनाउन थालेको उहाँले बताउनुभयो ।

वनकरिया बस्तिमा पहिलो शिक्षित महिला सन्तोषि बनकरियाले जेटिए बनेर गाउँमा नै काम गरिरहेको अबस्थामा हाल वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता गरेर उत्पादन सुरु गरेको जानकारी दिनुभयो । बनकरिया र चेपाङ बस्तिको २५ जना महिलाहरु मिलेर निम, घ्युकुमारी र तीतेपातीबाट साबुन बनाउन थालेको उहाँको भनाई छ । उहाँको अनुसार गतवर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले उहाँहरुलाई साबुन बनाउने तालिम दिएको थियो । तालिमपछि आयआर्जनमा आफूहरु जोडिने अवसर प्राप्त भएको उहाँले जनाउनुभयो । साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उहाँले बताउनुभयो ।

साबुन उत्पादन गर्नको लागि आवश्यक औजार समेत मञ्चले प्रदान गरेकोले अबको सबैभन्दा आवश्यक पाटो कच्चापदार्थ र बजारीकरण नै भएको उनीहरूको धारणा छ । ‘साबुनका लागि कच्चा पदार्थ निम रोप्न थालेका छौँ, घ्यू कुमारी बारीमा अलिअलि रोपेका छौँ, तीतेपाती वरिपरि बगर, बाटोतिर पाउँछौँ,–सन्तोषीले भन्नुभयो ।

तालिम दिएको संस्थाले फर्मा र साबुन बनाउन आवश्यक सामग्री र दुई लाख लगानी गरेको सम्झना बनकरियाले जानकारी दिनुभयो । उहाँले साबुन बनाउन बुटवलबाट फर्मा ल्याएको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘साबुन बनाउन मेहनत पर्छ, तीतेपाती टिप्न जानुपरयो, केलाउनु पर्यो, पकाउनु पर्यो । ’’ यहाँ उत्पादन गरिएको साबुन घाउ खटिरा, चिलाउने समस्या र छालाका लागि राम्रो हुने उहाँको भनाइ छ ।सानो, मध्यम र ठुलो साबुन उत्पादन गरेका वनकरिया महिलाले २० देखि ६० रुपियाँ सम्ममा साबुन बेच्ने गरेको उहाँले भन्नुभयो ।

१८ वर्षदेखि सुकुम्वासीको रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरीयाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा नेपाल सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा सामूहिक लालपुर्जा माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ घरपरिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।

हाल वनकरिया महिलाहरुले २० देखि ६० रुपैयाँसम्ममा साबुन बेच्ने गरेका छन् । तालिम दिन सहयोग गर्ने संस्थाले नै साबुन किनिरहेको भएपनी अब बजारीकरणको भने चिन्ता लागेको उहाँहरुको भनाई छ । मञ्चले दिएको थोरै रकमबाट सुरु गरिएको काममा लगानी पूँजी न्यून हुँदा उत्पादन पनि न्यून भएको उहाँहरुले बताउनुभएको छ । उत्पादन धेरै हुन थालेपछि बजारीकरण गर्न समस्या हुनसक्ने भएकोले वनमा आधारित उद्यम बिकासको लागि समुहहरुमा काम गरिरहेको संस्थ ग्रिन फाउण्डेशन नेपालसंग सहयोग मागिने उहाँहरुले जनाउनुभयो ।

जंगली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने बनकरिया समुदायमा पछिल्ला वर्षहरुमा क्रमशः परिबर्तन देखिएको छ । आधुनिक जीवनउपयोगी शीपसँग टाढा रहेका बनकरिया समुदायका ५ किशोरी र एक किशोरले एसएलसी वा एसइई परीक्षा उत्तीर्ण गरेका छन् । २ जना किशोरी प्राबिधिक क्षेत्रमा लागेका छन् । वनकरिया समुदाबाट पहिलोपटक एसएलसी परीक्षा (२०७२) उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याव असिस्टेन्ट टेक्निसियन बिषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहको मुखिया सन्मायाले जानकारी दिनुभयो । मातृसत्तात्कम समाज रहेको यस समुदाय हाल परिबर्तनउन्मुख देखिएको छ ।

पछिल्लो वर्षमा सरकारले वनकरिया समुदायलाई जनही मासिक ४ हजार रुपैयाँ सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि यिनीहरुको आर्थिक अवस्थामा सुधार आएको छ । यसअघि पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई उहाँहरुको बस्तिमा बस्न आउँदा दिनुभएको रकमले बस्तिमा सल खोलिएको थियो ।

 

 

(अञ्जली थापा)
(हेटौंडा)